Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गोरखाबाट फूलपाती पठाइयो 


सूचना कुण्ड
गोरखाबाट फूलपाती पठाइयो 

        
   सूचनाकुण्ड समाचारदाता
गोरखा, कात्तिक ४: गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।    
    
फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।    
    
गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको उहाँले बताउनुभयो ।    
    
गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । दरबारस्थित दसैँघरबाट बाजागाजासहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाइ गरिएको उहाँले बताउनुभयो ।    
    
गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलगायतले दरबारबाट फूलपातीको बिदाइ गरेर पठाउनुभएको हो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend