Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ  


सूचना कुण्ड
तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ  

  
   सूचनाकुण्ड समाचारदाता
गण्डकी, कात्तिक२  : मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् ।    
    
“चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरकाका दुई हजार दुई सय ३० पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्”, संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले भन्नुभयो, “मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीयको सङ्ख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शन भ्रमणका लागि आउँछन् ।”    
    
उहाँले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन विस्तारै लयमा फर्किरहेको बताउनुभयो । अघिल्ला वर्षको तुलनामा मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल भने केही घटेको पाइएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गर्नुभयो । “मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको तथ्याङ्क त राख्ने गरिएको छैन, तैपनि यो वर्ष मुस्ताङमा नेपालीहरूको आवागमन कमै देखिन्छ”, उहाँले भन्नुभयो ।    
    
गत वर्षको तुलनामा आन्तरिक पर्यटक मुस्ताङमा धेरै कम भित्रिएको जोमसोमस्थित होटल सिर्जना होटल एण्ड थकाली भान्छाघरका सञ्चालक मनगुना थकालीले बताउनुभयो । “दसैँको वरिपरि आन्तरिक पर्यटकको चाप बढ्थ्यो, होटल पाहुनाले भरिभराउ हुन्थे, अहिले मुख्य याममै होटलका कोठा खाली छन्”, उहाँले भन्नुभयो, “आर्थिक मन्दीको असर मुस्ताङको पर्यटनमा पनि देखिएको छ, दसैँपछि आन्तरिक पर्यटक बढ्ने आशा छ ।”    
    
मुस्ताङ जोड्ने सडक कमसल हुँदा पनि पर्यटकको आवागमन सहज हुन नसकेको थकालीले बताउनुभयो । “वर्षायामको तुलनामा अहिले सडक केही सुधार त भएको छ, तर स्तरीय सडक नहुँदा मुस्ताङ आउने पर्यटकले ठाउँ–ठाउँमा सास्ती खेप्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।    
    
मुख्य याममै पर्यटक कम आएपछि मुस्ताङ र आसपासका होटल तथा पर्यटन व्यवसायी चिन्तित छन् । म्याग्दी हुँदै सडकमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रबिन कडरियाले बताउनुभयो । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ ।    
    
“समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुकबाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको देखिन्छ”, प्रमुख डा कडरियाले भन्नुभयो, “मुस्ताङ घुम्ने विदेशी पर्यटकमध्येमा अधिकांश भारतीय धार्मिक पर्यटक छन् ।” मुस्ताङस्थित मुक्तिनाथ क्षेत्र विश्वभरका हिन्दूमाझ पवित्र धार्मिकस्थल मानिन्छ ।    
    
मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारका लागि तिब्बत गएको हुँदा त्यस क्षेत्र बौद्धहरूको पनि तीर्थस्थलका रूपमा चिनिन्छ । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने र पितृहरूको उद्धार हुने आशामा बर्सेनि हजारौँ तीर्थयात्री मुक्तिनाथ क्षेत्र पुग्छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend