Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने  


सूचना कुण्ड
सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने  

   
  सूचना कुण्ड समाचारदाता    

काठमाडौँ, माघ १४  
नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ ।    
    
सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ ।    
    
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सङ्गठन स्थापना दिवसका अवसरमा नयाँ कीर्तिमान कायम गर्ने कार्यक्रम रोचक, सभ्य र भव्य तुल्याउन आवश्यक तयारी सुरु भइसकेको छ । नेपाली मौलिक परम्परागत कला एवं संस्कृतिको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनमा योगदान पु¥याउने हेतुले सेनाले यो कार्यक्रम गर्न लागेको हो । सैनिक सङ्गठनमा गीत, सङ्गीत र बाजागाजालाई अभिन्न अङ्गका रुपमा लिने गरिन्छ ।    
    
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले राष्ट्रपति एवं परमाधिपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्चमा मुख्य समारोहको आयोजना गरी सेना दिवस मनाउँदैआएको छ ।    
    
 सोही अवसर पारेर छाउनी र सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा अमर शहीदको सम्मानमा यस वर्षदेखि अखण्ड दीप प्रज्वलनको सुरुआत हुने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । महाशिवरात्रिका दिन यो वर्ष सेना दिवस आगामी फागुन ६ गते मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका क्रममा विसं १८१९ मा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले प्रारम्भमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख गरी पाँच सैनिक कम्पनी खडा गरेपछि वर्तमान सेनाको साङ्गठनिक स्वरुपको सुरुआत भएको हो ।    
    
आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि स्वदेशी तथा विदेशदेखि ठूलो सङ्ख्यामा तीर्थयात्री काठमाडौँ आउने हुनाले त्यसको महत्वसमेतलाई दृष्टिगत गरी शिवरात्रिका दिन टुँडिखेलमा भव्य समारोहको आयोजना गरी सेनाले स्थापना दिवस मनाउँदैआएको छ ।    
    
पुर्खाको अदम्य साहस र वीरताले लेखेको नेपाल राष्ट्रको गौरवमय इतिहास अझ उजिल्याउने जिम्मेवारी नेपाली सेनासहित आम नेपालीको काँधमा रही आएको उहाँ बताउनुहुन्छ । सेना दिवसकै अवसरमा नेपाली सेनाको मानार्थ महारथी प्राप्त भारतीय सेनाका भूतपूर्व तथा वर्तमान सेना प्रमुखलाई अतिथिका रुपमा आमन्त्रण गरी सम्मान गर्दैछ ।    
    
नेपाल र भारतबीच एक–अर्का देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । सेना दिवस समारोहमा यहाँस्थित दूतावास र नेपालका लागि अवैतनिक तोकिएका दूतावासका सैनिक सहचारीले पनि भाग लिनुहुनेछ ।    
     
सोही अवसरमा काठमाडाँैको छाउनीस्थित वीर सम्मारकमा फागुन ५ गते माल्र्यापण गर्ने कार्यक्रम छ । पछिल्ला वर्षमा सेनाले स्थापना दिवसका अवसर पारेर ठूलो सङ्ख्यामा धावक सम्मिलित प्रधानसेनापति दौड प्रतियोगिता गर्दैआएको छ । यस वर्ष माघ २८ गते उक्त प्रतियोगिता हुनेछ ।    
    
सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत सेना दिवस विविध कार्यक्रम गरी मनाउने प्रचलन छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको नेपाली सेनाको ४४ औँ सङ्गठन प्रमुखमा प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ ।    
    
नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ भने समावेशीका हिसाबले सङ्गठन चार जात छत्तिस जातिको फूलबारीजस्तै बनेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीसँगै सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो तुल्याएको छ । ---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend