Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो 


सूचना कुण्ड
  हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो 

   
  सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, असोज २८ ः हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गरिएको हो । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजका दिनलाई घटस्थापना भन्ने गरिन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गर्नाका साथै विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन छ ।    
    
 दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्यको र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिक परम्परा छ ।    
    
 भगवती दुर्गाले दैत्यमाथि तथा रामले रावणमाथि विजय गरेको उत्सवका रुपमा नवदुर्गाको पूजा गरिँदै आइएको दसैँ घरका पूजारी सागर खरेलले बताउनुभयो । जमरा छरेपछि व्यक्तिमा सुख, शान्ति प्राप्त हुने तथा रोगव्याधी भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको उहाँको भनाइ थियो ।    
राष्ट्रको कल्याण होस् जनता सुख, शान्ति र समृद्धिमा रहुन्, उन्नति प्रगति हुँदै जाओस् भन्ने हेतुले जमरा राखिएको पूजारी खरेलले बताउनुभयो । हनुमानढोकास्थित दसैँघरमा जमरा राखेपछि सर्वसाधारणले पनि घरघरमा घटस्थापना गर्ने परम्परा छ ।    
    
 बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित चण्डी(सप्तशती) पाठ गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नजिकैको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लितपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक माटो राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।    
    
 यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकस्वरुप पहेँलो जमरा लगाइन्छ । नवरात्रको पहिलो दिन आज शैलपुत्री भगवतीको पूजा गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चाँैथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।    
    
 आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा तथा आराधना गर्ने शास्त्रीय नियम छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिने गरिन्छ । वडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।    

   गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो   
   
गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।    
    
परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो । कालिका भगवती मन्दिरको दसैँ घरमा नौ मानाको जमरा राखिएको छ । त्यस्तै गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएकोे मूलपुरोहित भट्टराईले जानकारी दिनुभयो ।    
    
वडादसैँको पहिलो दिन मूल दरबारको कैलास कोठाबाट गर्भगृह (पूजा कोठा) मा देवी भगवतीको सवारी गराउने र मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको हो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।    
    
प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालोबोका बलिदिने प्रचलन रहदै आएको छ । यसपटक दसैँ अवधिभर ३२ बोका, १२ भेडा, पाँच सुङ्गुर, एक सतारसहित १५ राँगो र नौ वटा कुखुरा बलिदिने उहाँले बताउनुभयो ।    
    
यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा एक सय ४० वटा भेडाबोका र एक सतारसहित ८४ ओटा राँगा बालिदिने प्रचलन थियो । राजसंस्थाको अन्त्य भएसँगै गोरखा दरबार हेरचाह अड्डामा दसैँ पूजाका लागि आवश्यक बजेटमा कटौती हुँदै आएकाले पशुपक्षीको बलि समेत घटाइएको छ ।     
    
यसैगरी घटस्थापनाको बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिनुभयो । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो ।    
    
परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजा गरी जमरा राखिएको उहाँको भनाइ छ । गणेश र कलस स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको हो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend