Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बेसी झर्न थाले भेडीगोठ 


सूचना कुण्ड
बेसी झर्न थाले भेडीगोठ 

 

  सूचनाकुण्ड समाचारदाता 
बागलुङ असोज, २०  : गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।    
    
 लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी तिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन् । बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन् ।    
    
 पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै हो । एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ । यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् ।    
    
 बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन् । यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन् ।    
    
 गत बैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यसवर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताउनुभयो । चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बताउनुभयो ।    
    
 चिसोले भेडाहरु मर्दा एक सातामै रु साढे तीन लाखको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उहाँको भनाइ छ ।    
“चाडपर्व नजिकिएको र लेकमा चिसो बढ्दै गएकाले गोठ बेसी झारेका हौँ, अरुले पनि झार्दै छन्, अबको एक सातासम्म सबै भेडीगोठ तल झरिसक्छन्”, उहाँले भन्नुभयो, “भेडाले धेरै चिसो खटाउन सक्दैनन्, वैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले अल्ली छिटो झारेको हुँ ।”    
    
 भेडापालक बलबहादुर घर्ती मगरले यसवर्ष भेडा बेसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताउनुभयो । असोज ११ मा बेसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उहाँको भनाइ छ । करिब चार हजार सात सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उहाँले बताउनुभयो । अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेडा रहेको घर्ती मगरको भनाइ छ ।    
    
 स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेडापालन गर्नेको सङ्ख्या कम हुँदै गएको बताउनुभयो । आफूहरुले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चसो नदिँदा भेडागोठालेको सङ्ख्या घट्दै गएको बताउनुभयो । ६७ वर्षीय विकले पहिले आफूले आठ सयसम्म भेडापालेको अनुभव सुनाउँदै अहिले एक सय पचासको हाराहारीमा मात्रै भेडा पालेको बताउनुभयो । दुई छोरा र एउटी छोरी भए पनि उनीहरुले भेडापालनमा चासो नदिएको उहाँको भनाइ छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend