Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कालीगण्डकी करिडोर अवरुद्ध


सूचना कुण्ड
कालीगण्डकी करिडोर अवरुद्ध

सूचनाकुण्ड समाचारदाता 
नवलपरासी, असोज१७ : अबिरल वर्षासँगै खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिराको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।    
    
बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिराको कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिन रहेको उहाँको भनाइ छ ।    
    
कालीगण्डकी करिडोर पहिराको कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने सवारीसाधन सञ्चालन हुनसकेका छनैन् । यस खण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत स्थानका लागि सवारीसाधन सञ्चालन हुने गर्दछन् । निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत विभिन्न स्थानमा क्षति पुर्याएकाले सवारी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।    
    
पहिराले मालढुङ्गा–बेनी सडक अवरुद्ध    
    
पर्वत : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिराले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।    
    
यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेको छ । पहिरो खस्नसमेत रोकिएको छैन । वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीबाट छुटेका सवारीसाधन मिलनचोकमा थन्किएका छन् भने अन्यत्रबाट आएका सवारीसाधन लस्तीबजारमा रोकिएका छन् । केही साना सवारीसाधन भने बागलुङतर्फबाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend