Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रु एक अर्ब लगानीमा थानकोटमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने 


सूचना कुण्ड
रु एक अर्ब लगानीमा  थानकोटमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने 

        
     सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, १४ असोज : जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विकास बैंक (केएफडब्लू)ले बजेट निकासाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।    
    
 चन्द्रागिरि– ४ स्थित थानकोटमा रु एक अर्ब लगानीमा निर्माण हुने अस्पतालका लागि जर्मन सरकारद्वारा परामर्शदाता तथा प्राविधिक छनोट भइसकेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र केएफडब्लूका प्रतिनिधिमण्डल बीचमा सम्पन्न बैठकमा केएफडब्लू प्रतिनिधिले नगरप्रमुखलाई उक्त जानकारी गराएको हो । केएफडब्लूका प्रतिनिधिले अस्पताल बन्ने स्थानको स्थलगत अवलोकनसमेत गरेको नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।    
    
 सो अवसरमा नगरप्रमुख गिरीले अस्पताल बनाउन नगरपालिकाले हालसम्म गरेको काम र अगामी दिनमा गर्नुपर्ने समन्वय र सहजीकरणबारेमा प्रतिनिधिलाई जानकारी गराउनुभएको थियो ।    
    
 नगरप्रमुख गिरीले अस्पताल बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट २३ रोपनी जग्गा प्राप्तिको प्रक्रिया टुङ्गो लगाइसकिएको केएफडब्लुका प्रतिनिधिलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले थानकोटमा नगरपालिकाले २५ श्ययाको ‘डायलासिस’ सेवासहितको अस्पताल बनाउन बोलपत्र प्रक्रिया सकेर निर्माण सुरु गरिसकेको बताउनुभयो । अस्पतालको भवन करिब रु १९ करोडको लागतमा बन्न लागेको हो ।    
    
 बैठकमा प्रतिनिधिमण्डलले नगरप्रमुखलाई प्रसूति विशेषज्ञ अस्पताल बनाउन ‘केएफडब्लू’बाट बजेट निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढ्न लागेको र जर्मन सरकारले परामर्शदाता तथा प्राविधिक पनि छनोट गरिसकेको जानकारी दिएको थियो । साथै यही साता नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयसँग केएफडब्लूले थप सम्झौता प्रक्रिया अगाडि बढाउन लागेको जानकारीसमेत दिएको नगरप्रमुख गिरीले बताउनुभयो ।    
    
 बैठकमा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी तथा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि सहभागिता थियो । विशेषज्ञ अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने लक्ष्य राखिएको छ ।    
    
 नगरपालिकाको समन्वय र सहकार्यमा नेपाल सरकार र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेका थिए । नगरप्रमुख गिरीले भन्नुभयो, “निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ । विशेषज्ञ अस्पताल बनेपछि यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ आयाम थपिनेछ ।”    
    
 विशेषज्ञ अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पु¥याउने लक्ष्य लिइएको छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पु¥याउने अपेक्षा गरिएको छ ।    
    
 विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ श्ययाका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवारनियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend