Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विधिपूर्वक मनाइयो पितृ सम्मान दिवस : गोकर्णमा साढे तीन लाख बढी भक्तजन   


सूचना कुण्ड
विधिपूर्वक मनाइयो पितृ सम्मान दिवस : गोकर्णमा साढे तीन लाख बढी भक्तजन   

सूचनाकुण्ड समाचारदाता  
काठमाडौँ, भदौ२८ : भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ ।    
    
पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेरेका छन् । बाबु नहुनेहरूले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका छन् ।    
    
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको थियो । आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको थियो । मन्दिरमा साढे तीन लाखभन्दा बढी भक्तजनको उपस्थिति रहेको अनुमान गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिनुभयो ।    
    
यस वर्ष गोकर्णेश्वरको मेला विगतका वर्षको भन्दा व्यवस्थित पाइएको ललितपुरको कोञ्ज्योस्योमबाट श्राद्ध गर्न यहाँ आउनुभएका बमबहादुर थापाले बताउनुभयो ।    
    
त्यस्तै, रसुवाको वेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लागेको थियो । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।    
    
आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रुपमा पनि मानिएको पुजारी भट्टले बताउनुभयो । “दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ । अरु दान दीनदुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ”, उहाँले भन्नुभयो ।    
    
भित्र्याइयो कुश    
    
आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व मनाएका छन् । वर्षभरि देवकार्य, पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश आजै वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ ।    
    
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिन्छ ।    
    
अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार सनातन धर्मावलम्बीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रुपमा मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend