सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, भदौ२८ : प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्को निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो ।
बैठकले स्व नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ । आजको बैठकमा स्व नेम्वाङको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभाको अध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी, २०५६ सालमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
विसं २००९ फागुन २८ गते जन्मनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो ।
राष्ट्रियसभाको अर्को बैठक आगामी असोज १२ गते शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
---
