Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस


सूचना कुण्ड
कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस

सूचनाकुण्ड समाचारदाता  

काठमाडौँ, भदौ२८ : प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।    
    
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।    
    
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।    
    
पितृसम्मान दिवस    
    
यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।    
    
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।    
    
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।    
    
आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।    
    
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेको पुजारी जगदीशचन्द्र भट्टले बताउनुभयो ।  

 

 मोती जयन्ती   


नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।    
    
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।    
    
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।    
    
यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।–––  

 
 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend