Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 हाइअल्टिच्युडमा फुटबल प्रतियोगिता सुरु 


सूचना कुण्ड
 हाइअल्टिच्युडमा फुटबल प्रतियोगिता सुरु 

   
सूचनाकुण्ड समाचारदाता  
मनाङ, भदौ २५: हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो ।    
    
जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको नमस्ते टुर्सका सञ्चालक एवं पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार हिमाललाई सन्तुलनमा राख्न भूमिका खेल्ने उद्देश्यले हिउँ चितुवाको बासस्थान जलवायु परिवर्तनले प्रभाव पर्दा लोप हुने अवस्थामा रहेकाले चितुवा संरक्षण र जलवायु परिवर्तनसम्बन्धी सचेतना फैलाउन खेलको माध्यमबाट प्रचारप्रसार गर्न लागिएको हो । समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा हिउँ चितुवा र याक संरक्षण गर्ने उद्देश्यले भदौ २५ देखि २७ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।    
    
बायोकोसका निर्देशक पारसविक्रम सिंहले मानव तथा वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरणमा चासोका साथ प्रकृतिको संरक्षणलाई सम्मान गर्दै स्थानीयसमक्ष लोपोन्मुख हिउँ चितुवालगायतका वन्यजन्तुको संरक्षणमा जनचेतना जगाउन कार्यक्रमले भूमिका अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण र जलवायु परितर्वनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दैै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।”     
    
एन्ट फाउन्डेसन, वाइल्ड फ्री र बायोकोसद्वारा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । मनाङको तिमाङ, पिसाङ र मुङजी मैदानमा हरि खड्का, अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंहलगायतका खेलाडीले फुटबल खेलिरहेका गुरुङले जानकारी दिनुभयो ।    
    
हाइअल्टिच्युडमा भएको प्रतियोगितामा मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधान फुटबल खेल्नुभएको छ । कोरियोग्राफर तथा मोडल एवं एन्ट फाउन्डेसनका निर्देशक प्रशान्त ताम्राकारले हिमाली क्षेत्रका लोपोन्मुख जनावरको संरक्षणका निम्ति मैत्रीपूर्ण खेलमार्फत सचेतना प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार कलाकार, खेलाडी र स्थानीय खेलाडीबीच मैत्रीपूर्ण फुटबल सुरु भएको हो ।    
    
स्थानीय क्लब टिम काजिनसरा याक, पिसाङ याक र मनाङ याकबीच प्रतिस्पर्धा हुनेछ । आज पहिलो दिन काजिनसरा याक र हिमालय स्नो लियोप्याडबीच प्रतिस्पर्धा भएको छ । हिमालयन स्नो लियोप्याडले ४–३ गोल गरेको छ । दोस्रो दिन पिसाङमा र तेस्रो दिन मुङ्जी भ्राकामा प्रतिस्पर्धा हुनेछ । वन्यजन्तु संरक्षण गर्नलाई खेलको माध्यमबाट अभिप्रेरित गर्ने लक्ष्य लिइएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend