Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जुम्लाका किसान स्याउ टिप्न व्यस्त  


सूचना कुण्ड
जुम्लाका किसान स्याउ टिप्न व्यस्त  

 सूचनाकुण्ड समाचारदाता 
जुम्ला, भदौ १५: जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिनुभयो ।    
    
“पाकेको स्याउ किन्न किसानको बगैँचामा पुगेर खरिद गरेका छौँ”, स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भन्नुभयो, “स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ ।” उहाँका अनुसार अहिले किसानको बगैँचाबाट प्रतिकेजी रू ५० मा स्याउ खरिद गर्ने गरिएको छ । करिब ७० क्विन्टल स्याउ खरिद गरी सुर्खेत बिक्री गर्न लगिएको तिरुवाको भनाइ थियो ।    
    
“स्थानीय र गोल्डेन जातका स्याउ लगाएको छु । घरमै प्रतिकेजी रू ५० मा बिक्री सुरु गरेका छौँ”, किसान गोरीकला रोकायाले भन्नुभयो, “गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लगेर बिक्री गर्ने गरेका छन् ।”    
    
जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् ।    
    
जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भयो, कति प्रतिशत बाहिर निर्यात भयोलगायत विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भदौको अन्तिम सातामा जिल्लामा कूल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिने छ ।    
    
गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ थियो । जिल्लाका आठवटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउनमा काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।    
    
परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुगे गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend