Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक  


सूचना कुण्ड
विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक  

सूचनाकुण्ड समाचारदाता  
जनकपुरधाम, भदौ१३ : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ ।    
    
 पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।    
    
 बैठकले पछिल्लो समय राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको भन्दै जनताले भोग्नुपरेको समस्याप्रति पार्टी गम्भीर रहेको पनि जनाएको छ । “पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको छ । समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ”, विज्ञप्तिमा भनिएको छ, “यतिबेला जनताले भोग्नु परिरहेका कष्टप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ ।”    
    
 एमाले (तत्कालीन माले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको ३५औँ वर्ष प्रवेशका सन्दर्भमा आयोजित सचिवालय बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक पृष्ठभूमि, नेपालको राजनीतिक तथा विविध आयाममा त्यसले खेलेको भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीको योगदान र तत्कालीन सन्दर्भलाई स्मरण गर्दै त्यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ ।    
    
 “यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीका योगदानप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ”, विज्ञप्तिमा छ ।    
    
 त्यसैगरी विसं २०१९ मा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, पुनर्निर्माण र दर्जनौँ क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न चौथो महाधिवेशनले ऐतिहासिक भूमिका खेलेको, ३० वर्ष लामो पञ्चायती व्यवस्था अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्न र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताका रुपमा स्थापित गर्न ऐतिहासिक मञ्च प्रदान गरेको, महाधिवेशनले अघि सारेको नीतिकै कारण माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने महत्त्वपूर्ण योगदान गरेको पनि एमालको दाबी छ ।    
    
 “त्यस्तो महत्त्वपूर्ण यस ऐतिहासिकस्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका काम अगाडि बढाउने प्रण गर्दछ”, विज्ञप्तिमा भनिएको छ । बैठक आज दिउँसो ३ बजेदेखि सुरु भएको थियो ।    
    
 विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनस्थलमा ३४ वर्षपछि एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालय बैठक बसेको हो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend