सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, भदौ ७: नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेशसभा सदस्य कार्कीको बुधबार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको डा कार्कीका छोरा डा अमितसिंह कार्कीले जानकारी दिनुभयो ।
धादिङ, नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहनुभएका स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी हुनुहुन्छ ।
यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले कार्कीको असामयिक निधनको खबरले स्तब्ध भएको उल्लेख गर्दै उहाँको आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
स्वर्गीय कार्कीको पार्थिव शरीरलाई भोलि भदौ ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङ सभापति रामनाथ अधिकारीद्वारा जारी शोक विज्ञप्ति
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, महासमिति सदस्य तथा बागमती प्रदेशसभाका पूर्वसदस्य डा. राजाराम कार्कीको ६६ वर्षको उमेरमा आज भदौ ६ गते बुधबार उपचारका क्रममा वीर अस्पताल, काठमाडौंमा असामयिक निधन भयो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँले नेपाली कांग्रेसको केन्द्रीय सदस्य(२०५९), नेपाली कांग्रेसको नवौं महाधिवेशनदेखि हालसम्म लगातार महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दलको केन्द्रीय महासचिव(२०५५); नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङको सचिव(२०५३); स्वतन्त्र विद्यार्थी युनियन, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज क्याम्पसको सभापति(२०४१) लगायतको जिम्मेवारी
वहन गर्नुभएको थियो । उहाँ वि.सं. २०७४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्यमा निर्वाचित हुनुभएको थियोे । वि. सं. २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा धादिङ जिल्लाको तत्कालीन क्षेत्र नं. ३ मा उहाँ नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो ।
उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी र बौद्धिक नेतालाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँका पिता, माता, २ श्रीमती, ४ छोरा र १ छोरी हुनुहुन्छ ।
उहाँको निधनले नेपाली कांग्रेस धादिङ निकै मर्माहत भएको छ र गहिरो दु:ख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँको निधनले शोकमा पर्नुभएका परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ ।
–––
