Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

राष्ट्रपतिको आह्वान पर्खाइमा कांग्रेस एमाले : ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने तयारी


सूचना कुण्ड
राष्ट्रपतिको आह्वान पर्खाइमा कांग्रेस एमाले  : ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने  तयारी

काठमाडौँ, असार २८ :  प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।    
    
 प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुनसक्ने अवस्था रहेसम्म सर्वाेच्च अदालतको नजिरबमोजिम संविधानको धारा, ७६ (२) बमोजिम नै सरकार गठनका लागि आह्वान हुनेमा विश्वास व्यक्त गर्नुभयो । सोही दलका नेता डा प्रकाशशरण महतले आफूहरु एमालेसँगको सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्न स्पष्ट रहेको उहाँले अवगत गराउनुभयो ।    
    
 एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले दुई दलको सहमतिबमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने तयारीमा आफूहरु रहेको जानकारी दिनुभयो । प्रमुख सचेतक बर्ताैलाले राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको विश्वासको मत असफल भएको जानकारी पाएपछि सम्भवतः आजै वा भोलिसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गर्ने र उक्त आह्वानका आधारमा आफूहरु प्रक्रियामा सहभागी हुने बताउनुभयो ।    
    
 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिमको अहिलेको सरकारले विश्वासको मत नपाएकाले अब धारा ७६ (३) बमोजिम ठूला दलका नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति पौडेलले आह्वान गर्नुपर्ने आग्रह गर्नुभयो ।    
    
 उहाँले ठूलो दलका नेता प्रधानमन्त्री बन्ने अवस्थामा त्यस्तो सरकारलाई आफ्नो दलले विश्वासको मत दिने तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएमा आफूहरु त्यसको विपक्षमा रहने जनाउनुभयो । उहाँले प्रधानमन्त्री दाहाल अहिले राष्ट्रपति पौडेललाई भेट्न जानुभएको पनि जानकारी पनि दिनुभयो ।    
    
 राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले वर्तमान सरकारमा रहेर देश र जनताका लागि इमानदार रुपमा काम गरेको र अबका दिनमा प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्ने बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend