Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

तत्कालै   एमाले र कांग्रेस मिलेर सरकार बन्ने अवस्था छैन : नेता साउद   


सूचना कुण्ड
तत्कालै   एमाले र कांग्रेस मिलेर सरकार बन्ने अवस्था छैन : नेता साउद   

पर्सा, वैशाख१५ : पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ ।    
    
 नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरुबीच प्रशासनिक सत्तासाझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।    
    
 “प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन,” उहाँले भन्नुभयो, “कुनै प्रमुख राजनीतिक दल मिलेर बन्ने सरकारले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा पनि संवैधानिक मुद्दाबारे जसलाई दुईवटै प्रमुख पार्टीको सरकार बनिसकेपछि संविधान संशोधनको प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने मुद्दा छन् भने ती मुद्दा सम्बोधन गर्र्ने सन्दर्भमा दुवै पार्टीबीच पारदर्शी सहमति भयो भने मात्रै सत्तासाझेदारी गर्न सकिन्छ । त्योभन्दा बाहेक प्रशासनिक सजिलोपनका लागि र सत्ता साझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्न सक्छ ।”    
    
 नेता साउदले हिजोसम्म आउँदा परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिनकै लागि आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाती राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने बताउनुभयो ।    
    
 “हामीले मुलुकभित्र रहेका अस्थिरता मच्चाउन खोज्ने शक्तिलाई पनि लोकतन्त्रको परिधिभित्र ल्याउने जुन प्रयास गरिरहेका छौँ । यदि प्रमुख राजनीतिक पार्टीबीच नै सत्ता र शक्तिका लागि गठबन्धन भयो भने यसको फाइदा लिएर अस्थिरतामा खेल्न खोज्नेले राजनीतिक लाभ वा फाइदा उठाउन सक्नेछन्,” उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले एमालेसँग गठबन्धन गरेर सरकारमा जानै परेको खण्डमा पार्टीको केन्द्रीय समितिमा पर्याप्त छलफल गरेर मात्रै अघि बढ्नेछ । जहाँसम्म विभिन्न समीकरणका कुराहरु छन् । नेपाली कांग्रेसले कसैलाई निषेध गर्ने उद्देश्यले कुनै पनि समीकरण गर्ने छैन । हामी जुनसुकै कुरा पनि परिपक्व भएपछि मात्रै त्यसको बाटोमा अघि बढ्नेछौँ ।”    
    
 कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढङ्गले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता साउदको भनाइ थियो । कांग्रेसका केही कमीकमजोरी भए त्यसलाई सच्याएर अगाडि बढ्न सकिने उहाँले बताउनुभयो । “वर्तमान परिप्रेक्ष्यमा कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढङ्गले निभाउछ,” उहाँले भन्नुभयो, “रचनात्मक प्रतिपक्षका रुपमा रचनात्मक काम गर्न हामी चाहान्छौँ ।”    
    
 पूर्वमन्त्री साउदले कांग्रेसले संसद्भित्रबाट सरकारमा भएको विरोधाभाष, विसङ्गति र सरकारले दायित्व निर्वाह गर्नेमा चुकेको विषयमा संवेदनशील भएर कांग्रेसले संसद् र जनस्तर दुवैमा आवाज उठाउँदै आएको बताउनुभयो । कांग्रेस एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रलाई जोगाउनका लागि अविछिन्न रुपमा कटिबद्ध हँुदै अघि बढ्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend