Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता


सूचना कुण्ड
चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो ।    
    
चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मान्नुभएन र उहाँ घर फर्किनुभयो ।    
    
प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उहाँको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो । बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न हुनुहुन्थ्यो । बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न हुनुभयो । उहाँ त्यतिबेला खबर ओसारप्रसारमा संलग्न हुनुभएको थियो ।    
    
    
विसं २०४६ अघिदेखि नै राजनीतिमा चासो राख्नुभएकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभयो । उहाँको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो । “सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भए”, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भन्नुभयो, “महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिए ।”    
    
त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ । उहाँको राजनीतिक यात्रा लामो छ । विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी सङ्घ तेह्रथुमको सचिव बन्नुभयो । विसं २०५४ मा उहाँ नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला सङ्घ तेह्रथुमको अध्यक्ष बन्नुभएको थियो ।    
    
विसं २०५८ मा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बन्नुभएकी सीता २०६० सालमा सचिव बन्नुभएको थियो । लगातार पार्टी राजनीतिमा लाग्नुभएकी उहाँ २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य बन्नुभयो ।    
    
विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य बन्नुभएकी सीताले संविधानसभाअन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गर्नुभयो । उहाँ तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुनुहुन्छ । दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाउनुभएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बन्नुभएको थियो ।    
    
 तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्नुभयो । उहाँ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित हुनुभएको थियो । दोस्रो प्रयासमा यस पटक नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसद्मा प्रवेश गर्दैहुनुहुन्छ । सीताले १९ हजार सात सय दुुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाउनुभएको थियो ।    
    
विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहनुभएकी सीतालाई साहसिक महिलाका रुपमा हेर्ने गरिएको छ । “तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्”, उहाँले भन्नुभयो, “अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु”, नवनिर्वाचित सांसद सीताले भन्नुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend