Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’  


सूचना कुण्ड
२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’  

      
   

     २९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा

 सूचनाकुण्ड समाचारदाता
    वालिङ, पुस  २३ ः   
विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आउनुभएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ ।    
    
बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आउनुभएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन हुनुहुन्छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीकी ६६ वर्षीया अर्यालले गाउँको नजिकै पोखरीचौरमा रहेको महेन्द्र देववाणी आधारभूत विद्यालयमा शिक्षिकाको रुपमा २९ वर्ष सेवा गर्नुभयो । शिक्षण पेसाबाट अवकाश हुनुभएकी अर्यालको अहिलेको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ । विद्यालयमा जसरी बालबालिकालाई माया गरेर शिक्षा दिइयो त्यसरी नै सुन्तलाका बोटलाई स्याहारसुसार नियमित गरेकै कारण पनि आम्दानीको मुख्य स्रोतको रुपमा सुन्तला भएको उहाँ बताउनुहुन्छ ।    
    
घरको आँगन, डिल तथा आसपासका बारी तथा कान्लामा सुन्तला लटरम्म फलेका छन् । घर वरिपरि रहेको सुन्तला बगैँचा पहेँलपुर छ । झट्ट हेर्दा जोकोही पनि मन आनन्दित र प्रफुल्लित हुने गर्छ । विगत वर्षको तुलनामा यस वर्ष सुन्तला अत्यधिक फलेकाले पनि बोटले फल धान्न नसकेर हाँगा लाछिएका छन् । केही बोटलाई एक दुई वटा टेका दिइएको छ ।    
    
सुन्तला पाक्न थालेसँगै बर्सेनि यहाँ व्यापारी बगैँचा नै ठेक्का लिन आउने गरेका छन् । यस वर्ष पनि उहाँले ठेक्कामार्फत रु चार लाखको सुन्तला बिक्री गरिसक्नुभएको छ । बाँकी सुन्तला अहिले बोटबाट नै फुटकररुपमा बिक्री भइरहेको छ । पुतलीबजारको जैँसीडाँडामा शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका सुन्तला उत्पादक किसानले सुन्तला भण्डारण गर्ने गरेका छन् । अहिले प्रतिकेजी रु ९० देखि सयमा बिक्री हुँदै आएको सुन्तलाको मूल्य बढी पार्न शीतभण्डारमा राख्ने चलन बढ्दै गएको छ । अर्यालको सुन्तला बगैँचामा उत्पादन भएको सुन्तला स्थानीय बजारसहित पोखरा, काठमाडौँ, बुटवललगायतका बजारमा बिक्री हुँदै आएको छ ।    
    
सुन्तलाको मूल्य बढी पार्न अहिले शीतभण्डारमा सुन्तला उहाँले राखिसक्नुभएको छ । “अहिले फुटकरमा प्रतिकेजी रु ९० देखि सयमा सुन्तला बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “दुई महिनापछि शीतभण्डारबाट झिकेर सुन्तला बिक्री गर्दा प्रतिकेजी झण्डै रु दुई सय पर्छ ।”    
    
सुरुका वर्षमा सुन्तलाका बोट नै कम भएकाले उत्पादन थोरै भयो । आम्दानी पनि थोरै भयो । केही वर्षदेखि निरन्तर सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी हुँदै आएको अर्याल दाबी गर्नुहुन्छ । सुन्तलाका नयाँ बोट थपिएकाले आगामी वर्षबाट उत्पादन बढ्नेछ । अनि आम्दानी पनि स्वभाविक बढ्ने विश्वासमा उहाँ हुनुहुन्छ ।    
    
विसं २०४२ मा दुई सुन्तलाका बोट रोपेको सम्झना उहाँलाई छ । परीक्षणका लागि रोपेका बोटले केही वर्षपछि राम्रो उत्पादन दिन सुरु गरेपछि उहाँ व्यावसायिकरुपमा अगाडि बढ्नुभयो ।    
    
“सुरुमा रोपेका दुई वटा बोटबाट राम्रो उत्पादन भएपछि सुन्तलाको सम्भावना देखेर बर्सेनि बोट थप्दै सुन्तला बगैँचा विस्तार गर्दै गएँ”, उहाँले भन्नुभयो, “अहिले सुन्तला बगैँचामा दुई हजार बढी सुन्तलाका बोट छन् जसमध्ये आधा बोटमा सुन्तला फलिरहेका छन् । आधा बोट नयाँ छन् ।” अर्यालले अझै दुई सय नयाँ बोट लगाउन तयारी गर्नुभएको छ । कूल ३६ रोपनी क्षेत्रफलमा अहिले सुन्तला बगैँचा फैलिएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend