काठमाडौँ, असोज २६ : गोरखाको चुमनुब्री गाउँपालिका–६ मा पहिरो खसेर खोला थुनिएपछि बुढीगण्डकी नदीमा आकस्मिक बाढी आएको प्रारम्भिक विश्लेषण गरिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्लाको चुमनुब्री गाउँपालिका–६, लोक्पादेखि चुम्लिङको बिचमा ठुलो पहिरो गई सोही स्थान भएर बग्ने बुढीगण्डकी नदी थुनिएर खुल्दा लेदोसहितको ठुलो बाढी आएर भौतिक क्षति भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।
नेपाल मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भूउपग्रहबाट प्राप्त तस्बिरको अध्ययन गर्दा शनिबार साँझ उक्त क्षेत्रमा पहिरो गएको देखिएको जनाएको छ । पहिरोले खोलाको बहाब रोकेपछि बनेको अस्थायी प्राकृतिक बाँधका कारण बाढी आएको हुन सक्ने विज्ञहरूको प्रारम्भिक विश्लेषण छ । यद्यपि पहिरो गएको स्थान, थुनिएको खोलाको पहिचान र बाढी उत्पन्न भएको प्रक्रियाबारे विस्तृत प्राविधिक अध्ययन भइरहेको महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार भूउपग्रहका तस्बिरलाई हेर्दा चुमनुब्री–६, तुम्जेमा शनिबार साँझ नै पहिरो गएको देखिएको छ । २०७२ सालको गोरखा भूकम्पको केन्द्रविन्दुनजिक पर्ने धार्चे र चुमनुब्री क्षेत्रमा भूधरातलीय जोखिमको विषयले पुनः चर्चा पाएको छ । भूगर्भविद् शिवकुमार बाँस्कोटाले कमजोर भूबनोट, भिरालो जमिन र साँघुरा खोचका कारण पहिरोले नदी थुन्ने तथा त्यसबाट आकस्मिक बाढी आउने जोखिम रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भूकम्पले चिराचिरा पारेको जमिनमा कुनबेला पहिरो खस्छ भन्ने निश्चित गर्न कठिन हुन्छ ।
गोरखामा आएको बाढीको प्रकृति केही वर्षअघि सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोसँग मिल्दोजुल्दो छ ।” “भोटेकोशीको बाढीको स्थिति र बुढीगण्डकीमा आएको बाढीको प्रकृति फरक छ । बुढीगण्डकीमा एकै पटक ठुलो पहाड खसेर बाँध बनेको र खोला थुनिने तथा फेरि खुल्ने क्रम भइरहेकाले क्षति कम भएको देखिन्छ ।”
बाढीअघि कम्पन महसुस
बुढीगण्डकीमा बाढी आउनुअघि भूकम्पको जस्तो कम्पन महसुस गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले बताउनुभयो । “खोलामाथिबाट खसेको पहिरोले बुढीगण्डकी थुनियो । त्यसपछि आएको बाढीले तलतिर क्षति पुर्यायो,” उहाँले भन्नुभयो । २५ देखि ३० वर्षअघि सोही खोलामा ठुलो बाढी आएको भए पनि अहिलेको जस्तो नभएको उहाँले बताउनुभयो । सो क्षेत्रमा भूकम्पको कुनै पनि मापन भने गरिएको छैन । पहिरो खस्दा जमिन हल्लिएको हुन सक्ने अनुमान गरिएको छ ।
प्राविधिक टोली परिचालन
बुढीगण्डकी नदीमा आएको बाढीको कारण पत्ता लगाउन ड्रोनसहित भूगर्भविद्को तीन सदस्यीय टोली परिचालन गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सडक सञ्चालन तथा बेलिब्रिज निर्माण सम्भाव्यता अध्ययनका लागि सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली पनि परिचालन गरिएको छ ।
