काठमाडौँ ,असोज २१ : काठमाडौं जिल्ला अदालतले निम्स दाईका नामले चर्चित पर्वतारोही निर्मल पूर्जाको कम्पनी मुस्ताङ हेलिकोप्टर प्रा.लि.को हेलिकोप्टर बिक्री तथा हक हस्तान्तरणमा रोक लगाएको छ । अदालतको फैसलाबमोजिम घरधनीको क्षतिपूर्ति नतिरेको अभियोगमा निम्स दाईको हेलिकोप्टर रोक्का राख्ने आदेश दिएको हो ।
आरोही पूर्जाको १६ साउनमा पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी निधन भइसकेको छ ।
भाडावाल ( इलाइट हिमालयन एडभेन्चर प्रा.लि.)ले अनधिकृत रुपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डर विस्फोटनबाट पूर्ण रुपमा क्षति भएको काठमाडौं कपनस्थित घरधनी टंक घिसिङ र दालमु कित्तर घिसिङलाई फैसलाले तोकिएको क्षतिपूर्ति नतिरेको अभियोगमा निम्स दाईको हेलिकोप्टर रोक्का गरेको अधिवक्ता अनन्तराज लुईँटेलले जानकारी दिनुभयो ।
अधिवक्ता लुईँटेलले घिसिङ दम्पत्तिलाई कानुनी सल्लाह उपलब्ध गराइरहेका छन् । निम्स दाई लि. लण्डन इङ्ल्याण्डको नाममा उक्त सेयर रहेको कम्पनी रजिष्ट्रारको कार्यालयको सेयर लगतमा उल्लेख छ । निम्स दाईको मुत्युपछि उक्त हेलिकोप्टर बिक्रीमा रहेको सार्वजनिक भएको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले उक्त हेलिकोप्टर रोक्का रहेको काठमाडौं जिल्ला अदालतलाई जानकारी गराइसकेको छ । २ वर्षअघिको काठमाडौं जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरिदिएपछि घिसिङ दम्पत्ति फैसलाले तोकेको एक करोड १४ लाखको क्षतिपूर्तिको दाबीसहित फैसला कार्यान्वयन प्रक्रियामा छन् । निम्स दाईको कम्पनी भने जिल्ला र उच्च अदालत पाटनको फैसलाविरुद्धमा सर्वोच्च अदालतमा पुगेको छ ।
साविक कपन गाविस-५, हाल बुढानिलकण्ड नगरपालिका-११ को कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको साढे दुई तले पक्की घरमा भाडावाला निम्स दाईको कम्पनीले कार्यालय सञ्चालन गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, बुढालिनकण्ठ नगरपालिकालगायत निकायमा धाउँदा समेत भाडावाला कम्पनीले मौखिक र लिखत रुपमा क्षतिपूर्ति ब्यहोर्न कबुल गरे पनि क्षतिको रकम नदिएपछि घरधनी घिसिङ दम्पत्ति ५ वर्षदेखि कानुनी लडाइमा छन् ।
