Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

विपदमा पूर्व सूचना प्रभावकारी


सूचना कुण्ड
विपदमा पूर्व सूचना प्रभावकारी

काठमाडौँ,असोज १२  : पछिल्ला  चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले ठूलो भौतिक क्षति पुर्‍याएको छ । विपद्मा परी चार जिल्लामा कम्तीमा २१ जनाले ज्यान गुमाएका छन् भने पाँच जना अझै बेपत्ता छन् । यद्यपि, विज्ञहरूका अनुसार यसपटक बाढी र पहिरोको तीव्रता जति भयानक थियो, त्यसको तुलनामा मानवीय क्षति भने निकै कम भएको छ । यसको कारण हो, मौसम विभागको सटिक पूर्वानुमान, प्रभावकारी पूर्वसूचना प्रणाली र समयमै गरिएको प्रतिकार्य ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार बाढी र पहिरोबाट ४ सय १९ परिवारका १ हजार ४ सय ५१ जना विस्थापित हुन पुगेका छन् । बागलुङ, पर्वत, मनाङ, म्याग्दी, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की, गोरखा र मुस्ताङलगायत जिल्लामा घर, पुल, सडक तथा अन्य महत्त्वपूर्ण भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक विवरणले मात्रै १ सय ७९ घर पूर्ण रूपमा ध्वस्त भएको र २६ घर आंशिक रूपमा क्षतिग्रस्त भएको देखाएको छ । थप २ सय ७० घर अझै पनि उच्च जोखिममा छन् ।

मानवीय क्षतिको दृष्टिकोणले बागलुङ जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ । त्यहाँ मात्रै १० जनाले ज्यान गुमाएका छन् भने एक जना बेपत्ता छन् । उता, पर्वतमा कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण नदी तटीय क्षेत्रका ठूलो संख्यामा घरहरू प्रभावित भएका छन् । नवलपरासी पूर्वमा भने डुबानका कारण ६ सय १३ जना स्थानीय सुरक्षित स्थानमा विस्थापित हुन बाध्य भएका छन् ।

यसपटक बाढीपहिरोले सयौँ घर बगाउँदा र भौतिक संरचना तहसनहस पार्दा पनि मानवीय क्षति कम हुनुमा ‘पूर्वसूचना प्रणाली’ले काम गरेको विज्ञहरूको निष्कर्ष छ । मौसमविद् विनोद पोखरेलले यसपटकको मौसम पूर्वानुमान निकै प्रभावकारी साबित भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै लेखेका छन्, ‘यो वर्षाले ठूलो आर्थिक क्षति पुर्‍याएको छ । तर सही पूर्वानुमान, समयमै सूचना प्रवाह र सबै निकायको चुस्त समन्वयले अझ ठूलो जनधनको क्षति हुन पाएन ।’ उहाँ आफैंले पनि विपद् अगावै सामाजिक सञ्जालमार्फत निरन्तर मौसमको अद्यावधिक जानकारी दिँदै सतर्क गराएका थिए ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली पनि समयमै सही सूचना जनस्तरसम्म पुर्‍याउन सक्दा ठूलो क्षति टरेको बताउँछन् । ‘अहिले भौतिक क्षति त अकल्पनीय नै भएको छ । दुई सयभन्दा धेरै घर बगाउँदा हजारौँ मानिस विपद्मा पर्न सक्ने भयावह अवस्था थियो,’ उहाँले भन्नुभयो , ‘तर सूचना पाएर समयमै सुरक्षित स्थानमा स्थानान्तरण भएकाले बाढीका कारण मानिसहरू सकुशल रहे, जुन हाम्रो लागि ठूलो सफलता हो ।’

यद्यपि, कतिपय अवस्थामा नागरिकको आफ्नै हेलचेक्र्याइँका कारण पनि विपत्ति निम्तिएको उहाँ को भनाइ छ । ‘हामीले हिमाली क्षेत्रलाई लक्षित गरेर रेड अलर्ट जारी गरेका थियौँ । सूचना पाएर करिब ९ हजार जना हिमाली क्षेत्रबाट समयमै सुरक्षित स्थानतर्फ फर्किए, तर सूचनालाई बेवास्ता गरी नफर्किनेहरू भने विपद्मा परे,’ उहाँले भन्नुभयो  । बाढीको पूर्वसूचनामा उल्लेख्य सफलता मिले पनि पहिरोको पूर्वानुमान अझै जटिल रहेको पराजुली स्वीकार्छन् । ‘बाढीमा सफलता मिले पनि पहिरोको पूर्वसूचना दिन चाहिँ अझै प्राविधिक रूपमा कठिन छ । यस क्षेत्रमा हामीले धेरै काम गर्न बाँकी नै छ,’ उहाँले भन्नुभयो ।

जल तथा मौसम विज्ञान विभागले मौसमी बुलेटिन जारी गरेलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ५ गतेदेखि नै सतर्कता र पूर्वतयारीसम्बन्धी सूचना प्रवाह गर्न सुरु गरेको थियो । असोज ७ गते ७७ वटै जिल्लाका कमाण्ड पोस्टसँग सम्भावित भारी वर्षा, उच्च सतर्कता, सूचना प्रवाह र सवारी आवागमन व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।

असोज ८ गतेदेखि प्राधिकरणको सिचुएसन रुम (आपत्कालीन कक्ष) निरन्तर ७६ घण्टासम्म सञ्चालनमा आयो । त्यहीँबाट मौसम, वर्षा र बाढीको अवस्थाको प्रत्यक्ष अनुगमन गर्दै सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिएको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend