काठमाडौँ , असोज ११ : मनाङको हिमलुङ हिमाल क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ । उनीहरूको पहिचान भने खुल्न सकेको छैन ।
नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघ (एनएनएमजीए) का अध्यक्ष तुलसिंह गुरुङका अनुसार हिमलुङ क्षेत्रमा उद्धारका काठमाडौंबाट आजै पुगेको टोलीले दुई जनाको शव फेला पारेको हो ।
शव फेला परेको जानकारी अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड तथा इम्याजिन नेपालका सञ्चालक मिङ्माजी शेर्पाले गराएको गुरुङले बताए । ‘दुई जनाको शव फेला परेको जानकारी आएको छ । तर शव कसको हो भन्ने पहिचान भएको छैन,’ उहाँले भन्नुभयो । उहाँका का अनुसार काठमाडौंमा रहेका गाइडहरूलाई दुईवटा हेलिकप्टरमार्फत हिमलुङ क्षेत्रमा लगिएको छ ।
हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरो गएपछि उद्धारका लागि एनएनएमजीएले ८ जनाको खोज तथा उद्धार टोली परिचालन गरेको थियो । उक्त घटनामा १४ जना सम्पर्कविहीन भएको जनाइएको छ ।
