काठमाडौँ असोज ५ : अवकाशपछि पेन्सनपट्टा बनाउन सामुदायिक विद्यालयका शिक्षकले अब काठमाडौं धाउन नपर्ने भएको छ ।
राष्ट्रिय किताबखाना (शिक्षक) शाखाले शिक्षकका लागि ई-पेन्सन सुविधा लागू गर्ने भएको छ । शाखाका निर्देशक विश्वास विकका अनुसार ई-पेन्सनको परीक्षण सफल भएकाले यसलाई देशभर विस्तार गरिनेछ । शाखाले काठमाडौं र भक्तपुरमा यसको परीक्षण गरेको थियो । परीक्षणका क्रममा यी दुई जिल्लाका शिक्षकले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईबाटै पेन्सनपट्टा प्राप्त गरेका थिए । काठमाडौंका शिक्षक चन्द्रकला कार्की र भक्तपुरका जगतकृष्ण सामाले ई-पेन्सन सेवा लिएको शाखाले जनाएको छ ।
अहिलेसम्म अवकाशपछि पेन्सनपट्टा प्राप्त गर्न शिक्षकले विद्यालय, स्थानीय तह र इकाई हुँदै किताबखानाको कार्यालयसम्म आउनुपर्ने अवस्था थियो । अब शिक्षकले आफ्ना कागजात इकाईमा बुझाएपछि त्यहीँबाट पेन्सनपट्टा प्राप्त गर्न सक्ने शाखाले जनाएको छ ।
देशभर १ लाख ८ हजार स्थायी शिक्षकको दरबन्दी छ । निजामती कर्मचारीका लागि गत चैतदेखि ई–पेन्सन सुविधा लागू गरिएको छ । अवकाशपछि कागजात बोकेर शिक्षक तथा कर्मचारी काठमाडौं आउँदा खर्चिलो र झन्झटिलो हुने गरेको गुनासो थियो ।
“अहिलेसम्म अवकाश भएपछि विद्यालय, पालिका, इकाई हुँदै किताबखानामा आएर पेन्सनपट्टा बन्थ्यो,” विकले भने, “अब विद्यालय, पालिका, जिल्ला इकाईसम्म शिक्षक आउने भए । शिक्षक किताबखाना आउनु पर्दैन । जिल्लाबाटै पेन्सनपट्टा बन्छ ।”
इकाईमा शिक्षकले बुझाएको कागजात केन्द्रमा पठाउने र त्यहीँबाट रुजु गरेर पेन्सन सुविधा प्राप्त गर्न सकिने उनको भनाइ छ ।
ई-पेन्सनको परीक्षण सफल भएकाले क्रमशः ७७ वटै जिल्लामा विस्तार गर्ने शिक्षक किताबखानाले जनाएको छ । निजामती कर्मचारीले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पेन्सनपट्टा प्राप्त गर्ने व्यवस्था गरिएको राष्ट्रिय किताबखानाका सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठले बताए ।
गत ६ चैतदेखि निजामती कर्मचारीका लागि ई-पेन्सन सेवा सुरु गरिएको थियो । “अवकाशप्राप्त निजामती कर्मचारी कोष तथा लेखा नियन्त्रक कार्यालय जान्छन् । त्यहाँ आवेदन दिएपछि कागजात रुजु हुन्छ,” उनले भने, ‘त्यहीँबाट पेन्सनपट्टा प्राप्त गरेपछि काठमाडौं आउनु पर्दैन ।”
