काठमाडौं ,भदौ २५ : दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा ओमानविरुद्ध ८७ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको उपाधिनजिक पुगेको छ । नेपाल दोस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । यसअघि टोली सन् २०२३ को च्याम्पियन बनेको थियो ।
बिहीबार मलेसियाको बायोमास ओभलमा सम्पन्न सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै समेटियो । ओमानका जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका दीपेन्द्र र कप्तान सन्दीप लामिछानेले तीन–तीन तथा ललितनारायण राजवंशी र रोहितकुमार पौडेलले दुई–दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको थियो ।
नेपालका दीपेन्द्रले सर्वाधिक ५१ रनको याेगदान गरे । उनले ७६ बलमा चार चौका प्रहार गरे । बसिर अहमदले ४७, देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए । पाँचौँ विकेटका लागि दीपेन्द्र र बसिरले ९३ रनको साझेदारी गरेका थिए ।
ओमानका हसनैन शाह र जय ओडेदराले तीन–तीन, मोहम्मद इमरानले दुई तथा मुजिबर अली र सकिल अहमदले एक–एक विकेट लिए ।
अब नेपालले उपाधिका लागि साबिक विजेता यूएईको सामना गर्नेछ । यूएईले हङकङलाई सात विकेटले पराजित गर्दै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको हो ।
