काठमाडौँ भदौ ३ : सेयर कारोबारमापक नेप्से परिसूचक सामान्य ऋणात्मक अवस्थामा बन्द भएको छ । मंगलबार १९.३४ अंकले घटेर बन्द भएको नेप्से बुधबार सामान्य ऋणात्मक (०.२६ अंक) अवस्थामा बन्द भएको छ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेले बुधबार पनि सोही प्रवृति पछ्याएको हो । यससँगै बुधबार नेप्से २ हजार ६ सय २२.२२ अंकमा ओर्लेको छ ।
सो दिन कारोबारमा आएकामध्ये ११० कम्पनीको सेयर मूल्य बढ्यो, १५० वटाको घट्यो र बाँकी १८ वटाको स्थिर रह्यो ।
बुधबार ४२ हजार ७ सय ९ पटकको कारोबारमा ९५ लाख ८ हजार ८ सय २२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिक २ अर्बले घटेको हो । मंगलबार ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, जलविद्युत, निर्जीवन बिमा, अन्य र व्यापारको परिसूचक सकारात्मक रहे । तर बाँकी सबैको उपसमूहको परिसूचक घटेपछि नेप्से बढ्न नसकेर ऋणात्मक अवस्थामै बन्द भएको हो ।
