कास्की, साउन ३० : कास्कीको पोखरा महानगरपालिकाको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो दुई किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । पोखरा–१४, विजयबस्तीबाट वडा नम्बर २६ सक्नेरीतर्फ आउने क्रममा दिउँसो १ बजेतिर दुवैलाई खोलाले बगाएको हो ।
बेपत्तामध्ये एक जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजतलास गरिरहेको जानकारी दिनुभयो । “अहिले खोजतलास जारी छ, प्रहरी र सशस्त्रको तालिम प्राप्त टोली खटिएका छन्,” उहाँले भन्नुभयो ।
खोलाका बगाएकामध्ये एक स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा १४ छिनेडाँडा बस्ने १४ वर्षका निक्सन गुरुङ भएको पुष्टि भएको छ । अर्का बालकको भने पहिचान खुलिनसकेको पासवानको भनाइ छ ।
