काठमाडौँ, जेठ ३ : मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने छ ।
ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।
एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताउनुभयो ।
चान्द्र महिनामा दुई वटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिनुभएको छ । जसमा भनिएको छ–
असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।
अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले, कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री पोखरेलले बताउनुभयो ।
क्षयमास कार्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कार्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ।
क्षयमास हुने वर्ष दुई अधिकमास नियमित समेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ ।
सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो गरे ।
गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्ने छन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
मलमासमा के के काम गर्नुहँदैन
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृह प्रवेश जस्ता कर्म गर्नु हुँदैन ।
यसैगरी, गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।
मच्छेनारायण मेला
चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ ।पोखरीले घेरिएको उक्त मन्दिरमा प्रत्येक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ । कीर्तिपुर, कलङ्कीको तीनथाना र थानकोटलगायतका नाका करिब ३, ४ किलोमिटर दूरीमा रहेको मन्दिर १७ सय वर्षअघि निर्माण भएको र ४ हजार वर्षअघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ ।
सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गदा र पद्म लिएको मूर्ति छ ।
विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुन्द्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् ।
मन्दिर घण्टा आकारको पौराणिक तथा कलात्मक शिखर शैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रूपका मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतिसहित गरुड हनुमान र दुवै छेउमा शिवको लिङ्ग छ । पोखरी अगाडि जलाशयमा मत्स्यकुण्ड अवस्थित शिवलिङ्ग छ । मन्दिरभित्र पाञ्चायन देवता र अन्य विष्णुका रूपहरू छन् । पौराणिक शङ्ख घण्टा छन् । दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुङ्गाको मूर्ति छन् ।
मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गर्नुभयो । मत्स्यरूपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ ।
यसअघि २०८० साल साउन महिनामा अधिकमास परेको थियो ।
