सूचनाकुण्ड समाचारदाता,
काठमाडौँ, वैशाख २८ ः विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ(आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँ दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ । उहाँ दक्षिण एशिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ ।
पहिलो पटक सन् २०२० को फेब्रुअरीदेखि उहाँले सो पदको पहिलो चारवर्षे कार्यकाल सम्हाल्दै आउनुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा गएराति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एकवर्ष अगाडि नै उहाँलाई दोस्रो कार्यकालका लागि पुनः समयावधि थप गर्ने निर्णय गरेको हो । सो बोर्डमा विश्वका २९ देश सहभागी हुने जनाइएको छ । अब उहाँले सन् २०२८ को जनवरीसम्म आइएफआरसीको सर्वाेच्च पदलाई नेतृत्व दिनुहुनेछ । आइएफआरसीका अध्यक्ष पदमा फ्रान्सेस्को रोक्का हुनुहुन्छ ।
आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गरिराखेको छ । महासचिव चापागाईँले मानवीय सेवाका क्षेत्रमा पु¥याउनुभएको काम तथा कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा उच्च प्रशंसा कमाउँदै आएको छ ।
दोस्रो कार्यकालको पदावधि थप गर्ने निर्णय पछि महासचिव चापागाईले भन्नुभयो, “अइएफआरसीको गभर्निङ बोर्ड र अइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित छु । यो ठूलो जिम्मेवारीका साथ आउँदछ र त्यहाँ थुप्रै चुनौतीहरु हुनेछन् । तर हामी समाधान खोज्न र हामीले सेवा गर्ने समुदायहरुका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ । ”
तीन दशक भन्दा वढी मानवीय सेवामा अनवतर रुपमा तल्लीन उहाँले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो ।
विश्वका १९२ देशका रेडक्रस आइएफआरसीमा आवद्ध छन् । सल्फेरिनो युद्धका पीडाले छट्पटाइ रहेकालाई मानवीय सेवा स्वःस्फुर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गर्नुभएको थियो । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण,सङकटासन्न समुदायलाई उत्थानशील बनाउने लगायतका क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ ।
सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुईकरोड स्वयंसेवकको माध्यमबाट करिव एकअर्व जनसङ्ख्यामा वर्षेनी मानवीय सहायता उसले पु¥याएको जनाइएको छ ।साथै रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्दछ ।...
