Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै   


सूचना कुण्ड
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै   

    
     सूचनाकुण्ड समाचारदाता, 

देउखुरी, वैशाख १० :    घोराही उपमहानगरपालिका– १७ डवरीका महिलरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन् । जङ्गलमा खेर जाने सालको पातवाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुसी भएका छन् । समूहमार्फत चार वर्ष अघिदेखि दुनाटपरी बनाएर बिक्री गर्न थालेदेखि आम्दानी हुन थालेको उनीहरु बताउँछन् ।    
    
विसं २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई टपरी बनाउने तालिम दिएको थियो । सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको त्रिशक्ति दुनाटपरी समूहकी अध्यक्ष उमा रावतले बताउनुभयो । तालिम लिएपछि दश महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतले बताउनुभयो ।    
    
“तालिम सकिएपछि गाउँका महिला मिलेर समूह गठन गर्दै दुनाटपरी उद्योग घरेलुमा दर्ता ग¥याँै, उद्योग दर्तागरेपछि घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुनाटपरी बनाउने मेसिन समूहलाई प्रदान गरेको थियो”, उहाँले भन्नुभयो, “मेसिनको दुनाटपरी हातले बनाएको जस्तो भरपर्दो नभएको भनेर ग्राहकले किन्न मानेनन् ।”    
    
गत वर्षदेखि हातले बनाउन थालेको उहाँले बताउनुभयो । पछिल्लो समयमा दाङमा हातले बनाएको दुनाटपरीको माग बढेको छ । साल र पालुकाको पातको दुना टपरी बनाउने गरेको उहाँले बताउनुभयो ।    
    
“जिल्लामा घोराही, तुलसीपुर, नारायणपुर र लमही बजारबाटसमेत माग आउन थालेको छ”, उहाँले भन्नुभयो, “बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन् उता बिक्री नभएको आफैले समन्वय गरेर बिक्री गर्ने गरेको छ, यसको माग बाह्रैमहिना आउने गर्दछ, चाडपर्व, पूजा, बिहे मृत्यु संस्कारमा पनि हरियो, सुकेको दुना टपरीको माग हुने गर्दछ, मौसमको समयमा माग धान्न मुस्किल हुन्छ । एउटा टपरीको मूल्य रु चार रहेको छ ।” दुना एक मालाको रु एक सय कायम गरिएको समूहकी अध्यक्ष रावतले जानकारी गराउनुभयो ।    
    
मालामा सयवटा दुनाटपरी हुने उहाँले बताउनुभयो । हरियो दुना टपरीको माग गर्नेका लागि तुरुन्तै वनबाट पात ल्याएर तयार गरिन्छ । विभिन्न सञ्चारमाध्यमले महिला उद्यमी बनेका र घर नजिकै खेर गएको पात सदुपयोग गरेर दुनाटपरी बनाएका समाचार सुनेपछि गाउँका दिदीबहिनीले सल्लाह गरेर काम सुरु गरेको समूहकी सदस्य शोभा घिमिरेले बताउनुभयोे ।    
    
मेसिनबाट बनाएको भन्दा हातले बनाएको मानिसले मन पराउने भएका कारण हातले बनाएको धेरै बिक्री हुने गरेको समूहकी सदस्य घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारका चाट पसल, पूजा सामग्री पसलमा सम्पर्क गर्छौँ, उत्पादन भएको दुनाटपरी बिक्री गर्न समस्या छैन ।” उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको उहाँले जानकारी गराउनुभयो ।    
    
“पहिले घरखर्चका लागि दुनाटपरी बनाउने काम गर्दे आएका थियौँ, तालिम पाएपछि भने व्यावसायिक रुपमै अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो । दुनाटपरी बनाउने काम सुरु गरेसँगै आर्थिक रुपमा सवल बन्दै गएको उहाँको भनाइ छ । वनमा खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एक जनाले मासिक रु छ हजारसम्म आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो ।    
    
“बजारमा बाह्रैमहिना दुनाटपरीको माग हुने गरेको छ”, घिमिरेले भन्नुभयो, “पहिले बसेर दिन बित्ने गरेका थिए, अहिले दिदीबहिनी जम्मा हुँदा पनि आम्दानी हुने काम गरेका छाँै, आम्दानी भएपछि आफ्ना इच्छा पूरा भएका छन् ।” बजारमा पाइने प्लास्टिकका सामान विस्थापित गर्ने प्लास्टिकले स्वस्थ्यमा पर्ने असरका बारेमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उहाँको धारणा छ । पातबाट बनेको जैविक सामानको महत्वका बारेमा सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने महिलाको धारणा छ ।    
    
घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाले खेर गएको समय र पातको सदुपयोग गरेर उत्पादनमूलक काममा लागेकामा प्रशंसा गर्नुभयो । उहाँले त्यहाँ उत्पादन भएका सामग्री बिक्री गर्न असहज भएमा बजार व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बताउनुभयो ।    
    
अरु महिलालाई पनि घर वरिपरी खेर गइरहेको पातलाई सदुपयोग गरेर आयआर्जनमा जोडिन आग्रह गर्नुभयो । दुनाटपरी प्रयोग गरेर प्लास्टिकका सामान किन्ने पैसा बाहिर जाने रकम रोक्न सकिने उहाँको धारणा छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend