Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

युट्यबमा धेरै ‘भ्यूज’ बढाउन  असारमै तीज गीत   


सूचना कुण्ड
युट्यबमा धेरै ‘भ्यूज’ बढाउन  असारमै तीज गीत   



गण्डकी,  असार २३ :  तीज आउन अझै दुई महिना बाँकी छ । युट्युबमा भने तीज गीत छाउन थालिसकेका छन् । सङ्गीत बजार अहिले युट्युबमा केन्द्रित छ । अडियो क्यासेट इतिहास भइसक्यो । तीजलगायत पर्व गीतमार्फत पनि कलाकारले व्यावसायिक लाभ उठाउँछन् । युट्यबमा धेरै ‘भ्यूज’ बटुल्ने ध्येयले अचेल तीज गीत छिट्टै सार्वजनिक गर्ने गरिएको छ ।    
    
 यही असार १३ गते ‘भावना म्यूजिक सोलुसन’ युट्युब च्यनलबाट सार्वजनिक तीज गीत ‘बरिलै’लाई हालसम्म दस लाखभन्दा बढीपटक हेरिएको छ । गीतका लेखक तथा सङ्गीतकार बिमल अधिकारीले यस वर्ष दस लाख ‘भ्यूज’ पाउने पहिलो तीज गीत भन्दै सामाजिक सञ्जालमार्फत दशर्क÷स्रोतामा आभार व्यक्त गर्नुभएको छ । समीक्षा अधिकारी र मोहन खड्काले गाउनुभएको उक्त गीतको ‘म्युजिक भिडियो’मा विमल अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ ।    
    
यसै साता अर्को तीज गीत ‘हेर्छौँ लुकीलुकी’ सार्वजनिक भयो । हरिता परियार र खेम सेञ्चुरीले गाएको सो गीतको ‘म्युजिक भिडियो’ले दुई लाख बढी ‘भ्युज’ बटुलिसकेको छ । ‘बीच्च बीचमा’ तीज गीत गाएर चर्चामा आउनुभएका गायक तथा कलाकार दुर्गेश थापाको अभिनय रहेको तीज गीत ‘ढुङ्गे धारामा’ पनि शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ ।    
    
शान्तिश्री परियार र मोहन खड्काको स्वर रहेको उक्त गीतको अभिनयमा थापालाई कलाकार नारायणी खत्रीले साथ दिनुभएको छ । ‘रहरैमा’ बोलको गीतसहित रेशम निर्दोष र सुनिता बुढाक्षेत्रीले यो वर्षको तीज गीत गायन सुरु गर्नुभएको छ । उक्त गीतमा प्रदेशिएका युवायुवतीको कथा चित्रित गरिएको छ । समीक्षा अधिकारी, राधिका हमाल र सन्तोष केसीको स्वरमा ‘सहरिया छोराबुहारी’मा बोलको तीज गीत सार्वजनिक गरिएको छ ।    
    
दैनिकजसो युट्यबुमा नयाँनयाँ तीजका भाका गुञ्जिन थालेका छन् । आगामी भदौ २१ मा तीज परेपनि युट्युबमा छाइरहेका तीज गीतले भने उक्त पर्व नजिकै आएको अनुभूति हुन थालेको छ । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान–श्रीमती त कहीँ प्रेमी–प्रेमीकाबीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ ।     
    
मनछुने भाका, शब्द र सुरिलो गायकीले तीज गीतलाई सरल र श्रुतिमय बनाएको पाइन्छ । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाँती राख्छन् । तीज गीतले सधँै चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ ।    
    
पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।    
    
अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई समेत तीज गीतमा उठान गरिएको पाइन्छ । तीज गीतमा पनि पुरुष कलाकारकै बर्चश्व देखिन थालेको छ । तीज गीतको सौन्दर्य नासिँदै गएकामा कला मर्मज्ञ पनि चिन्तित छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend