Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

९९ औँ जन्मजयन्तीमा नातिकाजीलाई यसरी सम्झिए स्रष्टाले


सूचना कुण्ड
९९ औँ जन्मजयन्तीमा नातिकाजीलाई यसरी सम्झिए स्रष्टाले

    
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ,  पुस ४ : वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्शी नातीकाजीको ९९ औँ जन्मजयन्तीको अवसर पारेर नातीकाजी स्मृति समाजले पशुपतिनाथमा उहाँद्वारा रचिएका तथा सङ्गीत दिनुभएका भजन प्रस्तुत गरेको छ ।    
    
पशुपतिनाथमा दैनिक रुपमा सञ्चालन हुँदै आएको सन्ध्याकालीन आरती हुनुपूर्व सन्ध्यामा उक्त समाजले नातीकाजीले रचना गर्नुभएका तथा सङ्गीत दिनुभएका दर्जनौँ भजन प्रस्तुत गरिएको थियो ।    
    
नातीकाजीको जन्मजयन्तीको अवसर पारेर यो वर्षदेखि प्रत्येक वर्ष नातीकाजी स्मृति समाजले पशुपतिनाथमा उहाँले सङ्गीत दिनुभएका भजन प्रस्तुत गर्ने कार्यक्रम घोषणा गरेको समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले राससलाई जानकारी दिनुभयो ।    
    
अध्यक्ष बास्कोटाले भन्नुभयो, “वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्शी नातीकाजीको जन्मजयन्तीका अवसरमा हामीले बिहान ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गर्ने छौँ र साँझको समयमा पशुपतिनाथमा उहाँद्वारा रचिएका भजन प्रस्तुत गर्ने छौँ ।”    
    
कार्यक्रममा सुदेश शर्मा, बानिका प्रधान, निशा देशार, शशीविक्रिम थापा, सञ्जय तुम्रोक तथा माण्डवी त्रिपाठीलगायत कलाकारले नातीकाजीले रचना गर्नुभएका तथा सङ्गीत दिनुभएका भजन प्रस्तुत गर्नुभएको थियो ।    
    
यसैबीच समाजद्वारा आज आयोजित एक समारोहमा ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ समेत घोषणा गरिएको छ । समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिने समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार बास्कोटाले बताउनुभयो । उहाँले नेपाली गीत–सङ्गीतका शिखर व्यक्तित्व नातीकाजीका योगदानलाई नेपाली पुस्ताले सम्झिरहने विश्वास व्यक्त गर्नुभयो ।    
    
विसं १९८२ पुस ३ गते पुल्चोक ललितपुरमा जन्मिनुभएका नातीकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, गीतिनाटक, नाटक, चलचित्र गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँको निधन विसं २०६० का कात्तिक १६ गते भएको थियो । आज घोषणा गरिएको उक्त नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ पुरस्कार राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने नातीकाजी स्मृति समाजले जनाएको छ ।    
    
यो वर्ष ‘नातीकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल र गीत रचनातर्फ सुनिल थापालाई सम्मान गर्ने जनाएको छ । त्यस्तै परम्परागत सङ्गीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बू, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापालाई प्रदान गरिने छ ।    
    
यस्तै ‘नातीकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत हुनेमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा सङ्गीतकार राजनराज शिवाकोटी रहनुभएको छ । ‘नातीकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशीविक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्रलाई प्रदान गरिनेछ ।    
    
‘नातीकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने तथा ‘नातीकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ बाट पत्रकारद्वय कृष्ण भट्टराई तथा शान्तिप्रिय पुरस्कृत गरिने जनाईएको छ ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend